अक्सिजन आउन १५ मिनेट ढिलो हुँदा सुत्केरीको ज्यान गयो, श्रीमान् वेहोस्

शुक्रबार, १४ जेष्ठ २०७८

पोखरा – तनहुँको भानु नगरपालिकाकी २५ वर्षीया गर्भवती महिलाको अक्सिजन अभावका कारण ज्यान गएको छ । गत शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकी उनको अक्सिजन अभावका कारण मृत्यु भएको हो ।

श्रीमान र उनका भाञ्जाको सहयोगमा अस्पताल पुर्याएकी उनलाई त्यही दिन अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । व्यथाले नछाडेका कारण चिकित्सकले त्यही रात अपरेसन गरेर सुत्केरी गराए। आफन्तले नवजात शिशुलाई घर लगे।

सुत्केरी आमालाई आइसोलेसनमा राखियो। आइसोलेसन बस्दा डाक्टरले उनलाई हाइफ्लो अक्सिजन दिइरहेको थियो। सुत्केरीका भाञ्जाका अनुसार जन्मिएको ४४ घण्टापछि नवजात शिशुको पनि पिसिआर परीक्षण गरिएको थियो । शिशुको रिपोर्ट भने नेगेटिभ आयो।

आमासँग राख्न नमिलेकाले बच्चलाई पाउडर दूध खुवाएर राखिएको छ । बच्चाको स्वास्थ्य सामान्य छ ।

कसरी भयो घटना ?

सुत्केरी आमालाई विस्तारै श्वास फेर्न गाह्रो हुँदै गइराखेको थियो। अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरामी र तिनका आफन्तलाई दियो।

सुत्केरीका भाञ्जा र अरू कुरुवा राति १० बजेतिर नजिकै रहेको पोखरा औद्योगिक क्षेत्र पुगे। पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन उद्योग गए। त्यहाँ पुगेर बुझ्दा उद्योगका कर्मचारीले अस्पतालमा नियमित अक्सिजन पठाएको बतायो। यता, हाइफ्लोमा अक्सिजन दिनु परेका बिरामीले भने अक्सिजन पाएका थिएनन्।

अस्पतालमा अक्सिजन नपाइएपछि सुत्केरीका आफन्तले अक्सिजन खोज्न बाहिर हारगुहार गरे। आफन्त र चिने जानेकाहरू सबैलाई अक्सिजनको व्यवस्था गरिदिन बिन्ती बिसाए। तर कहीं पनि अक्सिजन पाएनन्।

अक्सिजन खोज्दै जाँदा सुत्केरीका भाञ्जाले साथीहरूमार्फत् हिमाल आरोहण गर्दा प्रयोग गरिने अक्सिजन सिलिन्डर खोज्न थाले। आरोहीले बोक्ने सानो सिलिन्डर भए पनि एकछिन श्वास फेर्न पुग्छ भनेर संक्रमितका भाञ्जाले साथीहरूलाई लिन पठाए।

अक्सिजन नपाएर जीवन–मरणको दोसाँधमा पुगेकी सुत्केरीले अन्ततः राति साढे १० बजे अन्तिम श्वास फेरिन्।आरोहीले बोक्ने सिलिन्डर लिन गएका साथीहरूलाई सुत्केरीको भाञ्जाले रित्तै फर्किन भने।

सुत्केरीको ज्यान गएको १५ मिनेटपछि पोखरा अक्सिजन उद्योगबाट भरिएका अक्सिजन सिलिन्डर आयो।
‘अक्सिजन आउन १५ मिनेट ढिलो हुँदा माइजुको ज्यान गयो,’ भाञ्जाले गला अवरूद्ध पारे। सुत्केरीका श्रीमान भने बोल्न सक्ने अवस्थामा छैनन्।

यसरी अक्सिजन नपाएकै कारण सुत्केरी आमाले नवजात सन्तानलाई दूध खुवाउन नपाई मृत्युवरण गर्नु परेको छ। अक्सिजन अभाव भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै गएराति सुत्केरीसहित सात जनाले ज्यान गुमाए। यसरी ज्यान गुमाउनेमा तनहुँका तीन जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका एक–एक जना बिरामी रहेको कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।