भेरी अस्पताल काण्ड : स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर दुईको ज्यान गयो
नेपालगञ्ज – भेरी अस्पतालले स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर दुई जनाको मृत्यु भएको जनाएको छ।
अराजक मानिसहरूले आक्रमण गर्दा आइसियूमा अन्य बिरामीको उपचारमा बाधा पुगेका कारण थप २ जनाको मृत्यु भएको हो । अस्पतालका अनुसार बेलुका ९ः१५ र १२ बजे मृत्यु भएको हो । ए ७ र बी ४९ नम्बर बेडमा उपचाररत् बिरामीको मृत्यु भएको बताइएको छ।
ती दुबै बिरामी स्वास्थ्यकर्मीकै आफन्त रहेको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ तथा नेकपा एमाले (ओली गुट) का नेता मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।
स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आएर ढोका, कुर्सी तोडफोड गरेका थिए।
ज्यान जोगाउन चिकित्सक तथा नर्स सोही कोठाको झ्यालबाट हाम फाल्नुपरेको अस्पतालले जनाएको छ। यस्तो अवस्थामा ती दुई बिरामीको उपचारमा बाधा परेको विज्ञप्तिमा जनाइएको छ।