मन्त्रिपरिषद्ले पारित गर्‍यो १६ खर्बको बजेट

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौं– सरकारले आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँको बजेट पारित भएको वन तथा वातावरणमन्त्री प्रेम आलेले जानकारी दिए। मन्त्रिपरिषद्बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको उनले बताए।

सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दै छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन्।

नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसद्‍मा आगामी आर्थिक वर्षको आयरव्ययको अनुमानित विवरण ९बजेट० प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। तर, पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन्।

उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिए पनि सरकारले अध्यादेशमार्फत नै पूर्ण बजेट ल्याउने तयारी गरेको हो।