महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी, उपेन्द्र यादवले दिए अल्टिमेटम !

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको हो।

अध्यक्ष ठाकुर नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले उनीहरूलाई दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।