माहामारीको प्रतिकार गर्न ‘इक्यान सहायता कोष’ संचालनमा
काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सँग जुध्नका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘इक्यान सहायता कोष’ संचालन ल्याएको छ । शैक्षिक परामर्श व्यवसायीहरुलाई सहायता प्रदान गर्नका लागि कोषको स्थापना गरिएको हो ।
सदस्यहरुलाई इक्यान कोभिड सहायता कक्ष मार्फत संक्रमणको परिक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, चिकित्सकीय परामर्श, एम्वुलेन्स सेवा, अस्पताल भर्ना, अक्सीमिटर, रेमडिसिभिर लगायतका मेडिकल सप्लाईज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेसन, रगत, प्लाज्मा तथा कोभिड विरुद्ध खोप व्यवस्थापन र कोरोना पोजेटिभ बिरामीलार्ई आपतकालिन सवै सेवाहरु उपलब्ध गराउन कोषको स्थापना गरिएको इक्यानले जनाएको छ ।
इक्यानले आफ्नो सामाजीक उत्तरदायीत्व अन्तरगत कोषको स्थापना गरी संचालनमा ल्याएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । आफू र सम्वद्ध सबै सदस्य संस्थाहरुको तर्फबाट योजनाबद्ध पहलकदमीको अभियान आरम्भ गर्ने निर्णय गरेर कोषको स्थापना गरिएको उनको भनाई छ ।
संघका सदस्य तथा उनका परिवारजन लगायत आम नेपाली नागरीकहरु समेतलाई संक्रमित भएको अवस्थामा उपचार तथा राहत उपलब्ध गराउन संघका उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा ‘इक्यान कोभिड सहायता कोष अभियान’ संचालन गरेको र महासचिव दिपकराज भुसालको संयोजकत्वमा इक्यान कोभिड सहायता कक्ष सञ्चालनमा ल्याएको अध्यक्ष पाण्डे बताए ।
इक्यान कोभिड सहायता कोष अभियानले इक्यान, यसमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दाता संस्था एवम् व्यक्तिहरुबाट आर्थिक सहायता रकम संकलन गरि इक्यान कोभिड सहायता कक्ष मार्फत परिचालन गरिने ईक्यान उपाध्यक्ष एवम ईक्यान कोभिड सहायता कोषका संयोजक शेषराज भट्टराईले जानकारी दिए ।
निजका परिवारजन लगायत अन्य आम नागरीकहरुलाई समेत यथासम्भव सेवा उपलव्ध गराइने इक्यान महासचिव दिपकराज भुसालको भनाई छ । इक्यान कोभिड सहायता कोष अभियान सञ्चालन गर्न इक्यानले केन्द्रिय कोषबाट २ लाख ५१ हजार रुपैयामात्र उपलव्ध गराएको छ । कोषमा इक्यान केन्द्रिय समिति आफ्ना सबै सदस्य संस्थाका सञ्चालकहरु, आवद्ध कर्मचारी वर्ग लगायत इच्छुक महानुभावहरुलाई यस सहायता कोषमा यथासक्य आर्थिक सहयोग गरि विपतको घडीमा हातेमालो गर्न इक्यानले अपिल पनि गरेको छ ।
सहयोग गर्नका लागि ग्लोबल आइएमई बैंक, अनामनगर शाखामा रहेको नेपाल शैक्षिक परामर्श संघको खातामा जम्मा गर्न सकिने छ । बैंकको खाता नम्बर ३९०१०१००००५३३ रहेको इक्यानले जनाएको छ ।