राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने भन्दै विशाल प्रदर्शन

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ – राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने माग गर्दै विशाल प्रदर्शन भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन्। दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको छ ।

शनिबारको प्रदर्शन कोरोना महामारी सुरू भएपछि बोल्सोनारोविरूद्ध भएको पहिलो ठूलो प्रदर्शन हो।
कोरोनाका कारण आफन्त गुमाएकाहरूले उनीहरूको सम्झनामा हातले लेखेका नाराहरू बोकेर प्रदर्शनमा सहभागी भएका थिए।

ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन्। अमेरिकापछि महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक ब्राजिल हो। राष्ट्रपति बोल्सोनारोले सुरूदेखि नै यो सामान्य फ्लू भएको बताउँदै आएका थिए। उनले भौतिक दूरी कायम गर्ने र लकडाउन गर्ने कुराको सधैँ विरोध गरेका थिए। उनले आफूले कोरोनाभाइरसविरूद्धको खोप पनि नलगाउने घोषणा गरेका थिए।

अध्ययनहरूले अहिले ५७ प्रतिशत ब्राजिलियनहरू बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने पक्षमा रहेको देखाएका छन्। एजेन्सीको सहयोगमा