कठिन समयमा पनि हाँस्न नछोड्नुहोस्

मंगलबार, २३ असार २०८३

काठमाडौँ – जीवनमा सुख र दुःख आउने अनि जाने भइनै रहन्छ । जब अचानक कुनै दुःख आए, त्यो समयमा पनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँस्दा सकारात्मक उर्जा प्राप्त हुन्छ । जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । यसै सन्दर्भमा यो कथा मनन गरौँ ।

प्राचिन समयमा एक राजालाई युद्ध गर्ने शौख थियो । जब उनी युद्धमा जान्थे तब उनको खानपानको यतिधेरै सामान हुन्थ्यो कि जसलाई लैजानको लागि ३०० भन्दा बढी हात्तिको आवश्यकता पर्दथ्यो ।

एकपटक राजा युद्धमा गए तर शत्रु उनीमाथि हावी भए । शत्रुले राजालाई हराए र उनलाई नजरबन्द गरे । राजाका सबै हात्तिलाई अर्का राजाले जफत गरे ।त्यसपछि राजा कैदि जस्तै भए ।

एक दिन राजाको पुरानो भान्से उनीसँग भेट्न आए । भान्सेलाई देखेर राजाले भने, ‘मलाई धेरै भोक लागेको छ, के मेरो लागि खाना बनाइदिन्छौ ?’

भान्सेले कसैगरी रोटी र तरकारीको व्यवस्था गरे र सानो भाँडामा लिएर राजाकोमा पुगे । भान्सेले खाना राजाको अगाडि राखे । राजाले भाँडो उठाउन लाग्दा एउटा कुकुर त्यहाँ पुग्यो र भाँडोमा मुख हाल्यो ।

भाँडोको मुख सानो थियो । यसकारण कुकुरको अनुहार भाँडामा फस्यो र डरले कुकुरले भाँडा लिएर भाग्यो । यो देखेर राजालाई हाँसो आयो ।

भान्सेले यो कुरा बडो ध्यानसँग हेरिरहेका थिए । राजालाई हाँसेको देखेर उसले सोधे, ‘तपाईं किन यसरी हाँसिरहनु भएको ? अत्यन्तै मुश्किलबाट तपाईंको लागि खाना ल्याएको थिएँ, तपाईंलाई धेरै दिनमा राम्रो खाना मिलेको थियो त्यैपनि कुकुरले लिएर भाग्यो, तपाईं हाँसिरहनुभएको छ ।’

राजाले भने, ‘म यो सोचेर हाँसिरहेको छु, कुनैबेला मेरो खाना लैजानको लागि ३०० हात्तिको आवश्यकता पर्थ्यो तर आज एउटा कुकुरले मेरो खाना लिएर भागिरहेको छ ।’

अतः अवस्था कहिले परिवर्तन हुन्छ, कसैलेपनि भन्न सक्दैन । यसकारण जब मुश्किल समय आउँछ, त्यो बेलापनि हामीलाई हाँस्दै सामना गर्नु पर्दछ । हाँसिरहँदा दुःखलाई कम गर्न सकिन्छ ।