एमालेका ६ मन्त्रीले बुझाएनन् स्पष्टीकरण

सोमबार, १७ जेष्ठ २०७८

धनगढी – नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् ।

पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो ।

तर उनीहरु ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । ‘उहाँहरुले अहिलेसम्म स्पष्टीकरण बुझाउनुभएको छैन,’ एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले भने, ‘अब उहाँहरुमाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही हुन्छ । त्यो प्रक्रिया अगाडि बढिसकेको छ ।

यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ ।