उपत्यकाको निषेधाज्ञा खुकुलो, के खुल्छ, के खुल्दैन ?

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुहल बैठकले जारी निशेधाज्ञा केही खुकुलो बनाउने निष्कर्ष निकालेको हो ।

निषेधज्ञाको मोडालिटी परिवर्तन गरेर अबदेखि खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। यो नियम आगामी जेठ २० गतेदेखि लागु हुने छ ।

प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।

अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो ।

जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ । यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो ।

केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।