एनसेलबाट फोन गर्दा लाग्ने शुल्क ६ गुणाले बढ्यो

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट फोन गर्दा ६ गुणा बढि शुल्क लाग्ने भएको छ । एनसेलले विभिन्न १८ वटा देशमा लाग्ने शुल्क बढाएपछि ६ गुणा महङ्गो भएको हो ।

यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट सोझै फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्नेछ। नपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १८ ओटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले बृद्धी गर्दै शुल्क स्वीकृत गरेको हो ।

अन्य सेवा प्रदायकको शुल्क सरह एनसेलको शुल्क स्वीकृत गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । ‘नेपाल टेलिकम र स्मार्टको नम्बरबाट यी देशमा कल गर्दा ३० रुपैयाँ हाराहारीमा शुल्क लाग्छ’ उनले भने, ‘एनसेलबाट पनि सोहीसरह शुल्क स्वीकतिको माग आएकाले अनुमति दिइएका हो।’

एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको खनालले बताए ।

इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, पाइल्यान्ड, लाटभिया, लेबनान, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, कोएसिया, फिनल्यान्ड नेदरल्यान्ड्स, बुल्गेरिया, सिरिया र लियोनियामा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसा लाग्दै आएको थियो । यी मुलुकमा कल अब प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ ।