चाहिने भन्दा अधिक महत्वाकांक्षी नबन्नुु

आइतबार, ४ माघ २०८२

काठमाडौं– कुनै गाउँमा एक कुमाले बस्ने गर्थ्यो । उसले बर्षौ देखि माटोका भाँडा बनाएर बेच्ने काम गर्थ्यो । अरु थोक त सबै ठीक ठाक नै चलेको थियो तर एउटा कुराले भने ऊ एकदम असन्तुष्ट थियो । उसले बनाएका भाँडा फुटे भनेर जब कसैले सिकायत गर्थ्यो तब उसलाई साह्रै खिन्न महसुस हुन्थ्यो । उसले मनमनै भन्थ्यो– मैले बनाएका माटोका भाँडा फुट्दै नफुटे पनि हुने नि ।

यस्तैमा एक दिन सपनामा उसको भेट साक्षात् भगवानसँग हुन्छ । उसले भगवानलाई भन्छ– हे प्रभु म चाहन्छु कि मैले बनाएका माटोका भाँडोहरू कहिलै टुट्फुट नहोउन । सधैं जस्ताको तस्तै रहिरहुन ।

भगवानले तथास्तु भनेर बरदान दिन्छन । जब कुमाले बिहान उठेर भाडा बनाउन सुरु गर्यो तब अचम्म भयो कि उसले बनाएका भाँडा नफुट्ने भएछन । उसले मनमनै भगवानलाई धन्यवाद दियो । उसले सबैलाई बतायो कि उसले बनाएका माटोको कुनै पनि भाँडोहरू फुट्दैनन । उसले भाँडाहरू बनाउदै बेच्दै गर्यो । ऊ धेरै खुशी थियो ।

दिनहरू बित्दै जाँदा उसको खुशी लामो समय सम्म टिक्न सकेन किनकी उस्का भाँडोहरू कहिलै नफुटे पछी मानिसहरूले नयाँँ भाँडो किन्नै छोडे । उसको ब्यापार घट्यो । यस्तो स्थिती आयो कि ब्यापार शुन्य भएर परिवार पाल्न समेत गाह्रो हुन थाल्यो । यस्तैमा एक दिन राती फेरि उसले सपनामा भगवानलाई देख्यो । भगवानले सोधे के भो ?किन दुखी छौ ? उसले हात जोडेर भन्यो माफ गर्नुस् प्रभु मेरा भाँडा नफुट्ने भए पछी मानिसहरूले नयाँ भाँडा किन्नै छोडे । कृपया मेरा भाडाहरू फेरि अघि कै जस्तै फुट्ने किसिमका बनाइदिनुस् , ताकी मैले माटोकै भाँडा बेचेर परिवार चलाऊन सकूँ ।

माटोको गुण नै फुट्नु हो यसलाई नफुट्ने बनाउन खोज्दा कुमालेलाई नै समस्या पर्यो । ,जब हामी प्राकृतिक नियमको सिध्दान्त बिपरित जान्छौँ तब हामीले नै उल्टै दुःख पाउँछौ ।चाहिने भन्दा अधिक महत्वाकांक्षी अन्ततः घातक सिद्ध हुन्छ ।