कर्णाली प्रदेशसभा अवरुद्ध, मन्त्रीको राजीनामा माग

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौ – नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरे ।उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरे । उनले सो माग गरेसँगै एमालेले संसद अवरुद्ध गरेको छ ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भने ।