बुढानिलकण्ठमा तीन दलको बैठक सम्पन्न, ओलीलाई झट्का

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपालबी भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा सम्पन्न वार्तामा प्रदेश सरकारहरुका विषयमा छलफल भएको थियो ।

‘प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको हो’, एक नेताले भने । प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ । अन्य प्रदेशमा पनि बलियो गठबन्धन बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का दिने रणनीति बनाएको बुझिएको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको छ ।

यो भेटवार्ताले भने बालुवाटारमा खैलाबैला मच्चिएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ मा एमाले ओली गुटको सरकार छ । सरकार ढाल्न सड्यन्त्र बुनिएको भन्दै बालुवाटारमा खैलाबैला मच्चिएको हो ।