आफ्नो जिन्दगीलाई डेरा होइन, सुन्दर घर सम्झिने गर्नुहोस्
काठमाडौं –आफ्नो जिन्दगीलाई माया गर्न सिक, त्यसको बदलामा जिन्दगीले पनि तिमीलाई माया दिने छ । जिन्दगी एकपल्ट मात्र मिल्दछ त्यसैले यो जिन्दगीलाई कसरी सुन्दर बनाउने भन्ने कुरा पनि तिमीमा नै निर्भर रहन्छ । तिम्रो जिन्दगी तिम्रो डेरा होइन, तिम्रो घर हो । त्यसैले यो घरलाई तिमी फोहोर बनाउन नखोज । तिम्रो घरलाई अरुले आएर राम्रो बनाइदिदैनन् । त्यसैले तिम्रो घरलाई तिमी आफैले सुन्दर बनाउनु पर्दछ ।
तिमीले आफ्नो जिन्दगीमा कसको लागी कति ठाउँ दिने भनेर निर्णय गर्न सक्ने हुनुपर्दछ । आफ्नो जिन्दगीमा कसलाई आउँन दिने र कसलाई नदिने त्यो तिमीमा नै भर पर्दछ । आफ्नो जिन्दगीलाई उत्कृष्ट बनाउन चाहन्छौ भने तिम्रो जीवनमा तिमीली सहि व्यक्तिलाई मात्र स्वागत गर्नु पर्दछ । किनकि गलत व्यक्तिको आगमनले तिम्रो जीवन सोचे जस्तो नहुन सक्छ ।
आफ्नो जिन्दगीलाई डेरा होइन, सधै एउटा सुन्दर घर सम्झिने गर्नु । डेरामा बस्ने व्यक्तिलाई त्यहाँको सम्पूर्ण सरसफाईसंग कुनै मतलबनै हुदैन । त्यसैले उसले डेरामा कसरी बस्ने भन्ने कुरामा मात्र चासो दिने गर्दछ । त्यसैले आफ्नो जिन्दगीलाई त्यसरी कदापि नलेउ । तिम्रो जिन्दगीको सरसफाई देखि लिएर डेकोरेसनको जिम्म पनि तिमी आफैले लिने गर्नु पर्दछ ।
डेरामा बस्दा अरु व्यक्तिले तिम्रो डेरा, तिम्रो बसाईलाई लिएर हस्तक्षेप गर्ने गर्छन् । त्यसरी अरुले हस्तक्षेप गर्दा तिमी चुप भएर नबस । यो जिन्दगी तिम्रो हो र आफ्नो जिन्दगीको अधिकार पनि तिमी सग मात्र छ । त्यसैले सधै आफ्नो जीवनलाई आफ्नै स्वामित्वमा राख्नुपर्दछ । अरुले तिम्रो जीवनमा निर्णय लिएर तिमी सफलता पनि हाशिल गर्न सक्दैनौ र जीवनमा कहिल्यै पनि अघि बढ्न सक्दैनौ ।
आफ्नो घरमा तिमी चाहन्छौ कि, फोहोर बाहिर नै रहोस । आउने मान्छेहरु खुट्टा बाहिर पुछेर र धोएर मात्र घरभित्र आऊन् भन्ने तिमी चाहन्छौ । बेलाबेलामा घर सफा गरिरहन्छौ र तिम्रो घरमा बस्ने सबैलाई त्यसै गर्न प्रेरित गर्छौ । त्यसरी नै तिम्रो जीवनमा पनि सकारात्मक सोच, ब्यबहार र नकारात्मक असर गर्ने कुराहरुको सफाई गरिराख ।
तिमी तिम्रो घरलाई सिंगारेर सुन्दर मन्दिर जस्तो बनाउछौ । जसरी आफ्नो घरमा खुसी, शान्ती र आत्मियता ल्याउन चाहन्छौ, त्यसरीनै आफ्नो जीवनमा पनि खुसी, शान्ती र आत्मियाता ल्याउने प्रयास गर । तिम्रो जिन्दगीको लालपुर्जा भगवानले तिम्रो हातमा राखेर पठाएका हुन् । त्यसैले आफ्नो घर कस्तो बनाउने, घर कसरी सुन्दर बनाउने भन्ने सम्पूर्ण जिम्मा तिम्रै हातमा छ ।