आज पनि बसेन संवैधानिक इजलास

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको अपुष्ट सूचना सार्वजनिक भएको थियो ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।