बौद्ध घटनाः शव पहिचान भएन्, प्रहरी थाल्यो यस्तो तयारी
काठमाडौँ – बौद्धको टाउन प्लानिङमा बोराभित्र भेटिएको शवको लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।
प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्की भन्छन्, ‘खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउन पनि गाह्रो भयो, डीएनए परीक्षण गर्ने तयारी गरेका छौं ।’ मंगलबार बिहान ७ बजेतिर मानिसको खुट्टा भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार घटना गम्भिर प्रकृतिको भएकाले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फेरिन्सक विज्ञको टोली पनि बोलाइएको थियो । टोली पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।
‘खुट्टा जलेको अवस्थामा भएकाले पनि लिंग छुट्टयाउन गाह्रो भयो’ सिंहले भने, ‘उमेर समूहचाहिँ हड्डीको परीक्षणबाट खुल्छ कि भन्ने अपेक्षा छ ।’
प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन ।