कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ – कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणको लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा गत बर्ष दैलेखको टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटो काम सक्न निर्देशन दिएका थिए ।

शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेको थियो । साविकको कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकोट राष्ट्रिय विद्युत प्रसारणको लाइन पुग्ने पहिलो जिल्ला हो ।

राष्ट्रिय विद्युत प्रसारण पुगेसँगै कालिकोटमा लोडसेडिङको अन्त्य भएको छ ।
सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको विद्युत प्रसारण लाइन कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।

केही दिनअघि मात्रै परिक्षणका लागि सुचना जारी गरिएको थियो । सोमबार राति १० बजेदेखि विद्युत लाइन छाडेको प्रमुख जोशीले बताए ।