मुख्यमन्त्री गुरुङले पनि विश्वासको मत लिने
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । गुरुङले २७ गते शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेशसभा बैठक २७ गते १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्थाअनुसार उनले उक्त पत्र सचिवालयमा पठाएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए । यसअघि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।