नेपाल प्रहरीको ठूलो सफलता, ३८ वर्षदेखि फरार अपराधि पक्राउ

मंगलबार, २५ जेष्ठ २०७८

धनगढी – नेपाल प्रहरीलाई अर्को ठूलो सफलता प्राप्त भएको छ । डाँका मुद्दामा दोषी ठहर भएका फरार व्यक्तिलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेर ठूलो सफलता हात पारेको हो ।

२०४० सालमा हातहतियार देखाएर नगद लुटपाट गरेर फरार भएका बेलौरी नगरपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारले २०४० साल १० पुसमा बेलौरी नगरपालिकामा रहेको लारी डिस्टिलरीबाट अन्तःशुल्क वापतको सरकारी रकम पुनर्वास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा साविक लक्ष्मीपुर र त्रिभुवन बस्ती गाविसको बीचमा पर्ने जंगलमा बन्दुक, बन्चरो लगायतका हतियार देखाएर लुटपाट गरेका थिए ।

घटना भएकै दिनदेखि फरार भएका लुहारलाई जिल्ला अदालत कञ्चनपुरले २०४२ साल वैशाख २५ गते फैसला सुनाउँदै ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ गरिएका लुहारलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।