कहिलेदेखि खुल्छ निषेधाज्ञा ? के भन्छ गृह मन्त्रालय ?
काठमाडौं – गृह मन्त्रालयले निषेधाज्ञा हटाउने तयारी थालेको छ । मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञा हटाउने विषयमा गृहकार्य थालिएको हो ।
गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेर निषेधाज्ञा हटाउने विषयमा छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सफल भएको भन्दै क्रमशः खुकुलो गर्दै लैजानुपर्ने अधिकारीहरुको भनाइ छ ।
गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार जिल्लाको दैनिक समीक्षा प्राप्त भएको जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने तयारी छ ।
तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा खुकुलो गर्ने प्रवक्ता दाहालको भनाई छ ।
काठमाडौं उपत्यकामा चाहिँ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउने तयारी गरिएको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न नदिने बुझिएको छ ।