सर्वोच्चको लफडा : दुई न्यायाधीशको अग्नी परिक्षा आज

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ – सर्वोच्च अदालतको लफडा आजबाट दुरु हुने भएको छ । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा बसेका न्यायाधीशमाथि प्रश्न उठेर अबरुद्ध भएको इजलासमा आजबाट उक्त समस्या दुरु हुने भएको हो ।

दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन। उक्त इजलास आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो। आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन्।

उनीहरुको लिखित राय आफू इजलासमा नबस्ने हुनसक्ने आँकलन गरिएको छ । स्वच्छ छवि बनाएका दुवै न्यायाधीशले आफूमाथि प्रश्न उठेपछि इजलासबाट आफै बाहिरिने मनसाय बनाएको बुझिएको छ । उनीहरु इजलासमा नबसेपछि बरियताको क्रम अनुसार अरु दुई जना न्यायाधीशलाई राखेर पुनः इजलास तोकिएपछि सुनुवाई सुरु हुने छ ।