कर्णालीका १० वटै जिल्लामा ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुने, कति पाउँछन् भत्ता ?

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ – कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ ।

जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ । ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउनेले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

“नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ । कृषिमन्त्री शाहीले भने, “कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो ।