गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढल्यो
काठमाडौँ – गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ।
गुरुङले बिहीबार लिइएको विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि एमाले नेता गुरुङ नेतृत्वको सरकार ढलेको हो।
सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उनले जम्मा २७ मत पाएका छन्।
विपक्षमा ३० मत परेको छ। प्रदेशसभा बैेठकमा ५८ जना उपस्थित भए पनि जम्मा ५७ जनाले मतदान गरेका छन्।
एक जना तटस्थ बसेका छन्। राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित भए।
संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वासको गुमाएका हुन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।उनले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिनाअघि प्रमाणित भएको दाबी गरे ।