प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुकेको काठ’ भन्ने अधिकारी यसरी बने गृहमन्त्री

बिहिबार, २७ जेष्ठ २०७८

काठमाडौँ – नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको सरकारमा स्वास्थ्य मन्त्री रहेका एमाले नेता खगराज अधिकारी केपी शर्मा ओलीको सरकारमा गृह मन्त्री बनेका छन् । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा टिकटसमेत नपाएर विरक्तिएका अधिकारी स्वास्थ्य मन्त्री बनेका थिए ।

स्वास्थ्य मन्त्री भएका वेलामा उनले मृगौलाका रोगीहरुलाई ठूलो बचन लगाएका थिए । उनीहरुको उपचार तथा डाइलासिसको विषयमा डेलिगेशन गएको राष्ट्रिय मृगौला पिडत संघको टोलीलाई ‘मृगौला रोगीहरु सुकेको काठ हुन्, उनीहरुको उपचार गर्नु भनेको सुकेको काठमा पानी हालेको सरह हो’ भनेर बचन लगाएका थिए ।

‘सुकेको काठमा जति पानी हाले पनि पलाउँदैन्, पानी हाल्नु र नहाल्नुमा कुनै फरक छैन् ।’ मृगौला पिडित संघको टोलिसँग उनले भनेका थिए, ‘उनीहरुको उपचारमा राज्यले खर्च गर्नसक्दैन् ।’ संघको टोलीले फ्रि डाइलाइसिसको व्यवस्था गर्न आग्रह गर्दै मन्त्रालयमा डेलिगेशन गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि मृगौला पिडित भएकाले अधिकारीको यो वचनले उनलाई रुष्ट बनाएको थियो । डेलिगेशनमा गएका मधेस समता पार्टीका तत्कालिन अध्यक्ष स्वः मेघराज नेपाली निषादले यो कुरा ओलीलाई बताएपछि ओलीले अधिकारीलाई झपारेका थिए । त्यही कारण लामो समयसम्म नजिक हुन नदिएका ओलीले अहिले फ्याट्ट मन्त्री बनाएर सबैलाई आश्चर्यमा पारेका छन् ।

मृगौलाका विरामी समेत रहेका निषाद ओली पहिलो पटक प्रधानमन्त्री बन्द उद्योग राज्य मन्त्री बनेका थिए । आफ््नो पहिलो कार्यकालमा प्रधानमन्त्री ओलीले मृगौला पिडितका लागि डाइलाइसिस फ्रि गर्ने व्यवस्था मिलाएका थिए । मृगौला रोगकै कारण निषादको मृत्यु भइसकेको छ ।

बिहीबार १९ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री समेतलाई सुकेको काठ भन्ने अधिकारी सबैभन्दा शक्तिशाली बन्त्री बनेका छन् । स्वः रविन्द्र अधिकारीको प्रतिशपर्धीका रुपमा उदाएका अधिकारी पछिल्लो समय ओलीको प्रवक्ता जस्तै बनेका थिए । त्यही भएर अहिले गृह मन्त्रीको तक्मा पाएका छन् ।

को हुन् अधिकारी ?

नेकपा एमालेका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य अधिकारी यसअघि एमालेको वैकल्पिक पोलिटव्यूरो थिए । नवौं महाधिवेशनमा केपी ओली अध्यक्ष जित्दा उनका निकट सहयोगी खगराज अधिकारी पराजित भएका थिए ।

खगराज एक मतले केन्द्रीय सदस्यमा पराजित भए पनि नेकपा एमाले र माओवादी एकीकरणका क्रममा उनी केन्द्रीय कमिटीमा समेटिएका थिए । उनी एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र पोलिटब्यूरोमा चुनिएका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनका एक अगुवा खगराज अनेरास्ववियूको उपाध्यक्षसम्म भए भने देशकै ठूलो र आन्दोलनको अग्रणी मानिने पृथ्वीनारायण क्याम्पस पोखराको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभाापति निर्वाचित भएका थिए ।

पृथ्वीनारायण क्याम्पस यस्तो ठाउँ हो जहाँबाट सभापति बनेकाहरु प्रायः देशको राजनीतिमा अग्रभागमा छन् । पञ्चायत शासन ढलेपछि खगराज पार्टीको राजनीतिमा कास्की जिल्लाको नेतृत्व गरेर अघि बढे । २०४८ सालमै संसदीय चुनाव लडेका अधिकारी कांग्रेसका नेता तारानाथ रानाभाटसँग पराजित भए ।

२०५१ सालमा उनले कांग्रेसको तत्कालीन महामन्त्री रानाभाटलाई नै पराजित गरेर संसदमा आउने मौका पाए । त्यही बेला उनलाई एमालेका तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतक नियुक्त गरे । अधिकारी संसदीय राजनीतिमा त्यसबेलै स्थापित भए ।

२०५६ र २०६४ सालको चुनावमा पराजय व्यहोरेका अधिकारी २०७४ सालमा पुनः निर्वाचित भएर आए । नेकपा एकीकरण हुनुपूर्व उनी एमालेको प्रमुख सचेतकसमेत थिए । पार्टी एकतापछि देव गुरुङ प्रमुख सचेतक भएपछि उनी बाहिरिए ।

संसदमा सरकारको दह्रो प्रतिरक्षामा उभिने सांसदमा अधिकारी रहे । विद्यार्थी कालदेखि अहिलेसम्म निष्ठापूर्वक लागेको र केपी ओलीको टिमको सशक्त नेता भएकाले खगराजले गृहमन्त्रालय राम्रोसँग चलाउने आँकलन गरिएको छ ।