भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या घटेपनि मृतकको संख्या भने घटेन
काठमाडौँ – भारतमा दैनिक रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार चौथो दिन एक लाखभन्दा कम पुष्टि भएको छ । तर संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा भने उतारचढाव भइरहेको देखिन्छ ।
पछिल्लो २४ घण्टामा भारतभर ९१ हजार ७०२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना भाइरस पुष्टि हुनेको कुल संख्या २ करोड ९२ लाख ७४ हजार ८२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५८० जना कोरोनामुक्त भएका छन् र हालसम्म निको हुनेको कुल संख्या २ करोड ७७ लाख ९० हजार ७३ पुगेको छ ।
दैनिक संक्रमितको संख्या नाटकीय रुपमा घटेपछि संक्रमणबाट ज्यान गुमाउनको संख्यामा भने उचारचढाव आइरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोभिड(१९) बाट ज्यान गुमाउनेको संख्या ३ लाख ६३ हजार ७९ पुगेको छ ।
हिजो भारतमा कोरोराबाट ज्यान गुमाउनेको संख्या महामारी यताकै उच्च अर्थात् ६ हजार १४८ पुगेको थियो ।