जीवनमा कहिल्यै हार नमान्नुहोस, जित तपाइकै हुनेछ
काठमाडौं– एक राजाको नाम थियो बिक्रमानन्द । उनले राम्रोसँग आफ्नो राज्य चलाइरहेका थिए तर अचानक उनको राज्यमा शत्रुको बलियो फौजले आक्रमण गर्न सुरु गर्छ । बलियो शत्रु पक्षका अगाडि राजाका थोरै सिपाहीको केही सिप चल्दैन अन्त्यमा राजालाई आफ्नो दरबार छोडेर जङ्गलतिर भाग्नु पर्ने हुन्छ ।
युद्धमा हारेर निराश भएका राजा जङ्गलको गुफामा सुतिरहेका थिए,उनी शायद आत्महत्या गर्ने योजना बनाउदै थिए होला । यस्तैमा उनले गूफाको भित्तोमा एउटा सानो माकुराले जालो बनाउदै गरेको देखे । माकुरा जालो बनाउँदै थियो तर अचानक ऊ भुइँमा खस्यो । माकुरा फेरि भित्तोमा चढ्यो र जाल बुन्न थाल्यो ।
राजाले हेरिरहँदा शायद माकुरा १०० चोटि भुइँमा खस्यो होला तैपनि उसले काम गर्न छोडेन र अन्त्यमा आफूले बनाउन आटेको जाल बनाएरै छोड्यो । यसरी माकुराको गतिबिधी नियाली रहेका राजाको मनमा आनौठो जोश भरिएर आउँछ, उनले मनमनै भन्छन यार एउटा सानो माकुराले त असफलतालाई यति बहादुरीका साथ फेस गर्न सक्छ भने म त राजा हुँ । मैले किन हिम्मत हार्ने ।
राजा जुरुक्क उठेर आफ्ना बचेँ खुचेका दुई चार सय सिपाहीलाई लिएर फेरि लड्न जान्छन, यो चोटि पनि उनी पराजित हुन्छन तर यो पाली उनले हिम्मत हार्दैनन् किनकी यो चोटि उनी भित्रै देखि बलियो भएका थिए । अन्त्यमा उनले गुमेको राज्य मात्र होइन आफ्नो राज्यको सिमाना धेरै टाढा टाढा सम्म पुर्याउन सफल हुन्छन ।