काठमाडौंको निषेधाज्ञा १५ दिनसम्म थप्ने तयारी

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिनसम्म लम्बिने भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् ।

कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञा केही खुकुलो बनाई एक हप्तादेखि १५ दिनसम्म थप्न उपत्यकाका तीन वटै प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार सरोकारवालाहरुसँग परामर्श र संक्रमणको समीक्षा गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी जारी छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले अझै एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्बाउन सुझाव दिइसकेको छ । शुक्रबार बसेको डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने सुझाव अनुसार एकसाता थप गर्ने तयारी प्रशासनको छ । निषेधाज्ञा लम्ब्याउनेबारे अनौपचारिक निर्णय भइसकेको छ । ‘‘यसकै आधारमा एक साता अथवा थप १० देखि १५ दिन थप हुन सक्छ । अहिले नै यति भनेर भन्न सकिने अवस्था छैन । निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी कुन क्षेत्रलाई प्राथमिकताका साथ खुकुलो बनाउँदै लैजाने भन्नेबारे निर्णय भइसकेको छैन । छलफल भइरहेको छ,” प्रजिअ निरौलाले भने ।