लकडाउन खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने तयारी थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडोँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए । उनले भने– रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ । कोभिड महामारीले बाधा पुर्याएको छ । अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौँ । रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसके पछाडि अब नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ ।

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदी नालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् । उनले भने– ‘नदी नालामा साना वोटहरु हाम्रा नदी नालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु ।