ओलीले जेठ २ को स्थायी कमिटी बोलाउँदै, के छ माधव नेपाल समूहको तयारी ?
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । पार्टी भित्रको विवाद बढ्दै गएपछि ओलीले जेठ २ गते कायम रहेको कमिटीको बैठक बोलाउने तयारी गरेका हुन् ।
बैठक बोलाउने तयारी भएपछि अहिले माधव नेपाल समूहसँग नेताहरु निरन्तर छलफलमा रहेका छन् । बैठकमा नेपाल र झलनाथ खनाललाई पनि सहभागी गराएर एकताको सन्देश दिने उद्देश्यले बैठकको आह्वान भएको बुझिएको छ । तर नेपाल—खनाल सहभागी हुने निश्चित भइसकेको छैन् ।
ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर नेपाल समूहका नेतहरु कारवाहीमा परेको अवस्था कायमै रहेकाले बैठकमा सहभागी हुने नहुने भन्ने विषयमा टुंगो लागेको छैन् ।
ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।
यसैबीच आज बैठक आह्वानको पूर्णसन्ध्यामा नेताद्वय बामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता भएको छ । गौतम निवासमा भएको भेटमा उनीहरुबीच एकतालाई कसरी सम्भव बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।
प्रदेश सरकारमा आफ्नो पकट कमजोर हुँदै गएपछि कमजोर महसुस गरिरहेको एमाले अहिले कुनै पनि हालतमा मिल्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि जेठ २ मा फर्कन लचिलो बनेका छन् । सोही विषयमा छलफल गर्न पौडेल गौतमलाई भेट्न पुगेका हुन् ।