अनैतिक ‘यौन सम्बन्ध’लाई निरन्तरता दिन श्रीमानको हत्या !

मंगलबार, १ असार २०७८

काठमाडौं– लामो समयदेखिको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ । अनैतिक सम्बन्धका कारण नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेको हत्या उनकै श्रीमतीले गरेको खुलासा भएको हो ।

श्रीमान् दीपकको हत्या गर्न श्रीमती महिमा पाण्डेले योजना बनाएर सुटरलाई ‘सुपारी’ समेत दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका—६ स्थित तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा जेठ ५ गते राति ११ बजे माओवादी केन्द्रका स्थानीय नेता तथा कपिलवस्तु नगरपालिका—३ का ३४ वर्षीय पाण्डेलाई गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले गरेको अपरेशन ‘माइक ह्वीस्की’बाट पाण्डेको हत्यामा श्रीमती महिमाको मूख्य भूमिका रहेको खुलेको हो।

कसरी भयो हत्या ?

जेठ ५ गते राती लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार पाण्डे र इयाज अख्तर मुसलमानमाथि गोली प्रहार भएको थियो। लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए।

पेटमा ३ गोली लागेका पाण्डेको अवस्था गम्भीर थियो भने इयाजको अवस्था भने सामान्य थियो। उनीहरु दुबै जनालाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको थियो। पछि पाण्डेको अवस्थामा गम्भीर भएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको जेठ १० गते मृत्यु भएको थियो।

श्रीमान्‌ मार्ने यस्तो थियो योजना

कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३९ वर्षीय प्रकाश भनिने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाकोको लामो सयमदेखि अनैतिक सम्बन्ध रहेको पाइएको छ । महिमा र यादवबीच पछिल्लो पाँच वर्षयता ‘अनैतिक सम्बन्ध’ रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो कुरा दीपक पाण्डेले ३ वर्ष अघिनै थाहा पाएका थिए। यही विषयलाई लिएर श्रीमान्‌–श्रीमतीबीच झगडा समेत हुने गरेको थियो। श्रीमान्‌ले थाहा पाउँदा पनि महिमाले ओमप्रकाशसँगको सम्बन्धलाई जारी नै राखेकी थिइन्।

श्रीमान्‌कै कारण आफूहरुको सम्बन्ध टुट्ने ‘खतरा’ देखेपछि महिमाले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपरेशन ‘माइक ह्विस्की’का एक अनुसन्धान अधिकृतका अनुसार आफ्नो अनैतिक सम्बन्धबारे थाहा पाएदेखि नै महिमाले श्रीमान्‌को हत्याको योजना बनाएकी थिइन्। आफूहरुको सम्बन्धका कारण पटक–पटक गाली गर्ने गरेको र झगडा समेत हुने गरेको भन्दै महिमाले ओमप्रकाशलाई भेटेरै श्रीमान्‌को हत्या गर्नुपर्ने भनेर बताउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

३ वर्ष अगाडि नै हत्या गर्ने योजना बनेको भएपनि उनीहरुले त्यसको ‘कार्यान्वयन’ जेठ ५ गते गरेको अनुसन्धानमा संलग्न ती अधिकारी बताउँछन्। प्रहरीका अनुसार यसबीचमा पाण्डेको हत्याका लागि उनीहरुले धेरै प्रयास पनि गरेका देखिएको छ।

पाण्डेको दैनिक नियाल्ने, उनी गएका ठाउँमा सुराकी खटाउनेदेखि उनको नियमित उठबस हुने क्षेत्रमा रेकी गर्ने सम्मका कामहरु उनीहरु गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पाण्डेको हत्याका लागि उनीहरुले यस अगाडि पनि ३ पटक प्रयास गरेका थिए।

हत्या गर्न १ लाखको सुपारी

ओमप्रकाशसँगको आफ्नो सम्बन्ध बचाउन महिमा ३ वर्ष अगाडि नै श्रीमान्‌को हत्या गर्ने ‘निष्कर्ष’ पुगेकी थिइन्। तर, यसबीचमा उनीहरुले ‘भरपर्दो मानिस’ फेला पार्न सकेका थिएनन्।

केही समय अगाडि मात्रै उनीहरुले पाण्डेको हत्याका लागि रमजान साहु मुसलमानसँग ‘कन्ट्र्याक्ट’ गरेका थिए। रमजान साहु मुसलमानले भनेअनुसार नै उनीहरुले गोली किन्न, लुकाउन, सुटर तथा मोटरसाइकल चालकको व्यवस्था गर्नका लागि उनीहरुले १ लाख रुपैयाँ दिएका थिए।

प्रहरीका अनुसार शुरुमा ओमप्रकाशले नै रमजान साहु मुसलमानसँग महिमाको परिचय गराएका थिए। रामजान साहु मुसलमानसँग ओमप्रकाशले नै ‘डिलिङ’ गर्ने गरेको भएपनि ‘सूचना संकलन’ गर्ने काम भने महिमाले नै गर्ने गरेकी थिइन्।

जेठ ५ गते साँझ भने महिमाले नै रमजानलाई आफ्ना श्रीमान्‌ बाहिर गएको सूचना दिएकी थिइन्। महिमाले नै दिएको सूचनाका आधारमा रमजानले पाण्डेको हत्याका लागि आफ्नो ‘टोली’ परिचालन गरेका थिए।

११ जना पक्राउ

पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म उनकै श्रीमती महिमासहित ११ जनालाई पक्राउ गरेको छ।

हत्याको भोलिपल्ट जेठ ६ गते हत्याका मुख्य योजनाकार ओमप्रकाश र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको हो।

उनीहरुसँगै सुटर रमजान साहु मुसलमान, कपिलवस्तु नपरपालिका— १ आनन्दबाग कैलाशटोलका कुम्लाह भनिने ३५ वर्षीय पूर्णबीर पाल्पाली, कपिलवस्तु—२ बर्दाहवा बस्ने सद्दाम हुनेस खान, कपिलवस्तु यशोधरा गाउँपालिका—४ पोखरभिट्टा बस्ने राजेश भनिने ज्ञानेन्द्रकुमार पाण्डे, यशोधरा—४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका—५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु—१ माझीटोल बस्ने ३६ वर्षीय मोटे भन्ने नसरत अली र कपिलवस्तु—२ बरगदहवा बस्ने ३६ वर्षको प्रवीण गुप्ता पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेकाहरु विरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ।

कसको भूमिका के ?

पक्राउ परेका पाल्पालीले हत्यामा प्रयोग भएको पेस्तोल १ र २ राउण्ड गोली आफ्नो घरमा लुकाउने काम गरेको अनुसन्धानबाट खुलेको छ। हत्या पश्चात पाल्पालीकै घरमा साकिर अलि पखिया सुतेको अनुसन्धानबाट खुलेको छ। उनले अपराधीलाई संरक्षण गर्ने काम गरेको र हतियार लुकाउने काम गरेको प्रहरीले जनाएको छ।

सद्दाम हुनेस खानले साकिरलाई हतियार खरिद बिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ। ज्ञानेन्द्रकुमार पाण्डेले भने गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिदबिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ।

राधेश्याम चौधरी, श्रीराम साकिरले हतियार खरिदका लागि सहयोग गरेको पाइएको छ। प्रवीण गुप्ताले नसरतबाट ३७ हजार लिएर हतियार खरिद गरी दिएको खुलेको छ।