खुकुलो भयो निषेधाज्ञा, अझै निषेधित क्षेत्र के-के ?

मंगलबार, १ असार २०७८

काठमाडौं – कोरोना भाइरसको दोस्रो चरण शुरु भएपछि १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा आजबाट केही खुकुलो भएको छ ।

देशका ७७ जिल्ला मध्ये हाल ७५ जिल्लामा निषेधाज्ञा छ । सबैजसो जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ ।

निषेधाज्ञा कायमै भएपनि केही प्रावधानलाई असार ७ गतेसम्म खुकुलो बनाइएको हो । आजदेखि तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था थियो ।

पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसअघि पुस्तक पसल खोल्न दिइएको थिएन । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिइने काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । कृषि वस्तुको ढुवानी गर्न पाइने छ । राति ९ देखि बिहान ५ बजेसम्म निर्माण सामग्री पनि ढुवानी गर्न पाइने छ ।

होटल रेष्टुरेन्टले ‘टेक अवे’ सेवा सञ्चालन गर्न पाउनेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । सवारीसाधन मर्मत गर्ने वर्कसप बेलुका ९ बजेसम्म नै खोल्न पाइनेछ । सहकारी संस्थालाई समेत सञ्चालन गर्न दिइनेछ । औषधि, खाद्य वस्तु तथा अन्य वस्तु र अत्यावश्यक सेवा लिन सर्वधारणलाई मास्क लगाएर हिँड्न दिइनेछ ।

सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्‍चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको छ ।