काठमाडौँमा भेटियो अनौठो चोर…
काठमाडौँ – काठमाडौँमा प्रहरीले एक जना अनौठो चोरलाई पक्राउ गरेको छ । पाँच तारे होटलमा बास बसेर बैंक तथा वित्तिय संस्थाको पैसा चोर्ने अनौठो चोरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने ती अनौठा चोर हुन् नुवाकोटको बेल्कोटगढी नगरपालिका– ९ का २२ वर्षीय दीपक गजुरेल । उनी काठमाडौँमा म्युजिक भिडियो कम्पनी चलाएर बसेका व्यक्ति हुन् । उनको मुख्य धन्दा चोरी हो ।
कसरी परे पक्राउ ?
केही महिनाको अन्तरालमा ११ आटा सहकारीबाट पैसा चोरिएको प्रहरी चौकीमा उजुरी पर्यो । २०७७ साल माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाख, घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजार, २०७७ फागुन १३ गते गौशाला मित्रपार्कमा रहेको पञ्चश्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार रुपैयाँ, अर्को दिन फागुन १४ गते कोटेश्वरको सिसम स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख रुपैयाँ चोरी भयो ।
कहिले २० दिनको अन्तरमा त कहिले २ दिनको अन्तरमा कुनै न कुनै सहकारीमा चोरी भइरहेका थिए ।अन्तिमपटक जेठ १३ गते मैतीदेवीमा रहेको गौँथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार र ९ तोला सुन चोरी भयो ।
प्रहरीमा उजुरी परेको पर्यै, तर चोरलाई प्रहरीले पक्राउ गर्न सकेन । प्रहरी उपत्यकामा पटके चोरहरूको सूची तयार पार्यो । त्यहीँबाटै खोज्न थाल्यो । त्यही क्रममा मैतिदेवीमा रहेको गौंथली बचत तथा ऋण सहकारीको सीसीटीभीमा पातलो शरीर भएका तथा मास्क लगाएका व्यक्तिको श्यामश्वेत भिडियो कैद प्रहरीले भेटायो ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले उनलाई चिनिहाले । उनी ६ वर्षअगाडि लागूऔषध चोरीमा पक्राउ परेका १६ वर्षका युवक थिए । तर प्रहरीलाई उनी जेलमा नै छन् भन्ने लागेको थियो ।
ती सन्दिग्ध युवकको फोटो लिएर उनी डिल्ली बजार कारागार पुगे । तर उनी २०७७ को कात्तिक÷मंसिर महिनामा छुटिसकेका रहेछन् । त्यसपछि प्रहरी ती व्यक्तिको खोजीमा लाग्यो उपत्यकामा कतै पनि चोरी गर्दै गरेको देखेन । तर नुवाकोटबाट सूचना आयो ती व्यक्तिले उपत्यकामा म्युजिक भिडियो कम्पनी चलाएर बसेका छन् ।
मोबाइल नम्बर पत्ता लगाएर ती व्यक्तिको खोजी गर्यो । उनले म्युजिक कम्पनी प्रमोट गर्नका लागि आफ्नो मोबाइल नम्बर राखेका रहेछन् । ती व्यक्तिलाई फलो गर्दै जाँदा प्रहरीले गौशालाबाट पक्राउ गर्यो ।
त्यसपछि पत्ता लाग्यो, ६ वर्षअघि लागूऔषधमा पक्राउ परेका नुवाकोटको बेल्कोटगढी नगरपालिका– ९ का २२ वर्षीय दीपक गजुरेल रहेछन् ।
प्रहरीले कसरी उनी चोरीमा लागे भन्ने कुरा खोतल्न थाल्यो । प्रहरीको सोधपुछकै क्रममा उनले आफूले ९ वटा सहकारीमा चोरी गरेको स्वीकारे ।
प्रहरीले उनी बस्ने ठाउँबाट सहकारीबाट चोरेका पैसा, सुन, ल्यापटप र झोलाहरू समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।
चोरीको पैसाले म्युजिक भिडियो कम्पनी ?
पक्राउ परेका दीपक गजुरेलले अनामनगरमा २५ हजार मासिक भाडा तिर्ने गरी म्युजिक कम्पनी खोलेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमणपछि भएको निषेधाज्ञाभन्दा केही दिनअगाडि ‘स्पेस म्युजिक’ नामको म्युजिक कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता गरेर चलाउँदै आएको परिसर काठमाडौंका प्रमुख एसएसपी सिंहले बताए ।
उनले त्यो म्युजिक भिडियो कम्पनीमार्फत पनि ठगी गरेको देखिएको छ । उनले केही नयाँ महिला मोडलहरूसँग म्युजिक भिडियो खेलाइदिने भन्दै पैसा लिएर ठगी गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
‘म्युजिक कम्पनीको डाइरेक्टर भएर भिडियो खेलाइदिने भन्दै पैसा समेत लिएको रहेछ,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘उसले १र२ वटा नाम चलेका म्युजिक भिडियो पनि बनाएको देखिन्छ ।’
म्युजिक भिडियो कम्पनीमा विदेशबाट आयात गरिएका सामानहरू प्रयोग भएका छन् ।
अनुसन्धान अधिकारीसँगको कुराकानीमा ‘मेरो यो अफिसको पर्दा बिक्री गर्यो भने मात्रै पनि १०/१२ लाख रुपैयाँ आउँछ,’ भनेको ती अधिकारीले बताए ।
ठमेलको २ तारे होटलमा बास, दैनिक ९ हजार भाडा
पक्राउ परेका गजुरेल कुनै फ्ल्याट भाडा लिएर वा घर भाडामा लिएर बस्दैनथे । उनी ठमेलको २ तारे होटलको भीआईपी रूममा दैनिक ९ हजार रुपैयाँ भाडा तिरेर बस्ने गरेको पाइएको छ ।
त्यही होटलको कोठामा बसेर सहकारीहरूमा चोरीको योजना बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दैनिक त्यहीँबाट अनामनगरमा रहेको अफिस जाने÷आउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
बैंकमा डलर खाता
पक्राउ परेका दीपक गजुरेलले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौं गरी २ वटा बैंकमा खाता खोलेको देखिएको छ । प्रहरीका अनुसार दीपकको डलर खातामा ५ सय डलर छ भने उनले बैंकबाट विदेशमा पैसा पठाएको पनि देखिएको छ ।
‘पैसा बाहिर पठाएको देखिएको छ । कहाँ कति पठाएको रहेछ भनेर अनुसन्धान भइरहेको छ,’ एसएसपी सिंहले भने, ‘अन्य बैंकमा खाता छन् कि छैनन् रु कति पैसा छ भन्ने कुरा जान्न राष्ट्र बैंकलाई पत्र पठाएका छौं । त्यसको जवाफ आएपछि मात्र थाहा हुन्छ ।’
दीपकले आईएमईमार्फत पनि विदेशमा पैसा पठाएको देखिएको छ । प्रहरीले उनलाई शनिवार ४३ लाख ९७ हजार नगद, ९ तोला सुन, एक थान ल्यापटप, एउटा सुनको तिलहरी, टप लगायतका सामग्रीसहित पक्राउ गरेको थियो ।
उनले कसरी चोर्थे ? कसरी योजना बनाउँथे र अन्य सहकारीको चोरीमा संलग्न थिए कि थिएनन् भन्ने विषयमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।