फेरी ठगीए राजेन्द्र महतो…
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतो चिना हेराएर उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ । ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो हौसिएर ओली सरकारमा सहभागी हुन पुगेका खुलेको हो ।
तर, ज्योतिषको आश्वासन एक महिना पनि टिकेन । महतोले ज्योतिषबाटै ठगिएको प्रतिक्रिया दिन थालेका छन् । जसपा २०७७ बैशाख १० गते निर्माण भई २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो पार्टी आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न लगाएर चिना बनाउन लगाएका थिए ।
२०७७ वैशाख १० गते राति ११ बजे पार्टीको नामाकरण तथा असार २४ गते ३ः२५ बजे निर्वाचन आयोगले पार्टी दर्ता गरेकोलाई आधार मानेर नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक एवं ज्योतिषी नवीनकुमार झाले सो चिना बनाएका थिए ।
नेपाल संस्कृत विश्व विद्यालयका उपप्रध्यापकसमेत रहेका ज्योतिष नविन झाले नै पूर्वराजपा नेपालको पनि चिना बनाएका थिए । उनले बनाएको चिनाअनुसार नै राजपा अवस्था अगाडि बढेको भन्दै महतोले जसपा नेपालको पनि चिना बनाउन लगाएका हुन् ।
पार्टीमा देखिएको ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि महतोलाई सुझाव दिएका थिए । पार्टीभित्रको आन्तरिक संघर्ष तथा आपसी खिचातानीलाई समाप्त गर्नका लागि केतु र प्रशासनिक अवरोध हटाउनका लागि ७ हजार पटक मंगल जप गर्न महतोलाई सुझाव दिएका थिए ।