जुम्ल्याहा बच्चा जन्माएकी खातुनले पाइन उन्मुक्ती, प्रधानमन्त्रीपत्नी राधिका शाक्यको हाइहाइ

शनिबार, २६ असार २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा नेपालकी प्रथम महिला राधिका शाक्यको चौतर्फी प्रशंसा भएको छ । जुम्ल्याहा बच्चा जन्माएर आर्थिक अभावमा अस्पतालमै बास बस्न पुगेकी धनुषाकी बेगम खातुनको उपचार खर्च बेहोरेपछि उनको चौतर्फी प्रसंशा भएको हो ।

खातुन उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी थिइन् । धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया खातुन अहिले घर फर्किसकेकी छन् ।

शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै उनलाई अस्पतालले डिष्चार्ज गरेको हो । उपचार खर्च तिर्न नसकेर खातु चार दिनदेखि बन्धक बन्नुपरेको थियो । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन् ।

शल्यक्रियाबाट उनको एक छोरा र एक छोरी जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनलाई अस्पतालले असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बन्नुपरेको थियो ।

प्रधानमन्त्री पत्नी शाक्यले बिहीवार नै प्रहरीको सहयोगमा अस्पतालको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराएकी हुन् । यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो ।

खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेका समाचार पढेपछि शाक्यले खातुनको सवै उपचार खर्च बेहोरेको बालुवाटार श्रोतको भनाई छ ।

शाक्यले आइतबारसम्म अस्पतालको रकम जम्मा गरिदिने बचन दिएको बुझिएको छ । सरकारले गरिवको उपचार गर्नपर्ने भएपनि नीजी अस्पतालहरुले मनलाग्दी शूल्क उठाउँदा उनीहरुलाई समस्या आउने गरेको छ ।