एमाले विवाद मिल्नै लागेका बेला माधव नेपाल बिरामी, कस्तो छ अवस्था ?
नेकपा एमाले विवाद समाधानतर्फ अगाडी बढिरहेकै बेला पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल बिरामी परेका छन् ।
विगत केही दिनेयता स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। गौतमका अनुसार नेता नेपाललाई जनै खटिरा आएको हो।
‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
गौतमका अनुसार नेपालको स्वास्थ्य समस्याका कारण प्रचण्डले संक्षिप्त भेट गरेका हुन्। शनिबारको भेटमा अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ’, गौतमले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’