सकियो कार्यदलको बैठक, भयो सहमती

शनिबार, २६ असार २०७८

काठमाडौँ – नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्न भनेका कार्यदलले सहमती गरेको जनाएको छ । उनीहरुले गरेको सहमती भोलि आइतबार घोषणा हुने नेताहरुले बताएका छन् ।

सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराएका छन् ।

‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं’ शनिवारको बैठकपछि विष्टले भने, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ । औपचारिक दिने काम मात्र बाँकी छ ।’

पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारी प्रयत्न गरेको बताए । सर्वोच्चको आदेश अगावै एमाले सहमतिको घोषणा हुने विष्टले बताए ।

यता राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको हो ।

पौने ६ बजेदेखि सुरु भएको भेटवार्ता अहिले पनि जारी छ । सुरक्षा स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु भएको हो ।

किन र के का लागि भेटवार्ता भएको हो भनेर खुलाइएको छैन् । तर आगामी निर्वाचनको तयारी, नेकपामा देखिएको विवाद र समाधानको उपाए, सर्वोच्च अदालतले गर्नै फैसला र त्यसपछि आउने सत्ता संकटमा केन्द्रीत भएर छलफल भइरहेको बुझिएको छ ।

त्यस्तै, आजपनि नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसेको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु भएको थियो । कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो ।

यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो । कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए ।

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।