सुरेन्द केसीसहित १२ जना कलाकार नेपाली कांग्रेस प्रवेश
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरेन्द्र केसीसहित १२ जनालाई नेपाली काँग्रेस प्रवेश गराएका छन् । ‘मुलाको साग’ले चर्चित अभिनेता सुरेन्द्र केसीसहित १२ जनाभन्दा बढी कलाकार तथा संस्कृतिकर्मीलाई देउवाले पार्टी प्रवेश गराएका हुन् ।
उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराए । सभापति देउवाले पार्टी सदस्यताको टिकट समेत कलाकारलाई दिएका थिए ।
हाँस्यकलाकार महादेव त्रिपाठी पनि सोही अवसरमा कांग्रेस प्रवेश गरेका छन् । कलाकारलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको चर्चा गरे ।
देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा कलाकारलाई पार्टी प्रवेश गराइएको हो । कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसीले उक्त अवसरमा संस्कृति जोगाउन संघले भूमिका खेलिरहेको बताइन् ।
त्यस्तै, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सत्तारुढ दल नेकपा एमाले एकताको बिन्दुमा पुग्नै लाग्दा माओवादी केन्द्रका अध्यक्ष देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।
शनिबार बिहान एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्डले त्यहाँ नेता नेपालसँग लामै भलाकुसारी गरे । उनले नेपाललाई ओलीसँग मिल्ने सहमति भइसकेको हो भन्ने प्रश्न पनि राखे ।
नेता नेपालले संसद विघटनको मुद्दामा आफू उनीसँगै रहेको आस्वस्त पारेपछि मात्रै प्रचण्ड त्यहाँबाट निस्किए । नेता नेपाललाई प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला धोका दिनसक्ने भन्दै सचेत पनि गराए ।
कोटेश्वरबाट निस्किएका प्रचण्ड दिउँसो सवा तीन बजेतिर बुढानिलकण्ठ पुगे । कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट्न निवासमै पुगेका प्रचण्डले एक घण्टा त्यहीँ बिताए ।
एमाले एकताका कारण विपक्षी गठबन्धनमा देखिएको गतिरोध र अबका विकल्पका विषयमा प्रचण्ड(देउवाबीच १ घण्टासम्म छलफल चल्यो । एमालेमा युवा नेताको दबाबका कारण माधव नेपालले गठबन्धनको पछिल्लो बैठक छाडेपछि गठबन्धन निष्क्रिय जस्तै देखिएको छ ।
सोही निष्क्रियतालाई तोड्नका लागि प्रचण्डले दौडधूप बढाएका हुन् । उनले खुमलटार(कोटेश्वर(बुढानिलकण्ठको रुटमा आफूलाई आज दिनभर व्यस्त बनाए ।
कोटेश्वरमा पुगेर गठबन्धनबाट अलग नहुनका लागि एमाले नेता नेपाललाई फकाएका प्रचण्डले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग गठबन्धनको पक्षमा सक्रियताको लागि छलफल गरे ।
सर्वोच्च अदालतले २८ गते सोमबार संसद विघटन सम्बन्धमा फैसला गर्ने पूर्वनिर्धारित अवस्थामा प्रचण्डको भेटघाट दौडधूपलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।