एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति
काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलले १० बुदे सहमति गरेको छ । सिंहदरबारमा जारी बैठकले १० बुदे सहमति गरेर समस्या समाधान गर्नेतीर केन्द्रीत भएको छ ।
केही दिनदेखि सहमति गर्न निरन्तर लागि रहेका कार्यदलका नेताहरुले आइतबार सकारात्मक नतिजा आउने दावी गरिरहेका छन् । ओली र नेपाल पक्षबीच १० बुँदे सहमति गर्ने तयारी भएको माधव नेपाल निकट एक नेताले जानकारी दिएका छन् ।
सहमतिका बुँदामा सर्वोच्च अदालतको हस्ताक्षर फिर्ताको विषय नसमेटिएको ती नेताले बताए । ‘अहिलेलाई एक चरणको सहमति भयो’ नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘अगाडि के हुन्छ ओलीको कार्यशैलीमा भर पर्छ।’
तर पार्टी एकताका लागि भन्दै कार्यदलले तयार पारेको मस्यौदाको भाषामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । कार्यदलका आफूपक्षीय सदस्यहरूलाई आइतवार बिहान निवासमा बोलाएर वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेकै भाषामा सहमति गरी हस्ताक्षर गर्न गाह्रो हुने सुनाएका हुन् ।
एमाले उच्च स्रोतका अनुसार माधव नेपालले खासगरी दुई कुरामा असहमति जनाएका छन् । ‘पहिलो त उहाँले अदालतको फैसलालाई प्रभावित पार्ने खालको कुनै पनि भाषा स्वीकार्य छैन भन्नुभएको छ,’ उच्च स्रोतले भन्यो, ‘दोस्रो कुरा उहाँले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेकै जस्तो एकल शक्तिमा राखेर सहमति गर्दा पछि धोखा हुन सक्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ ।’
स्रोतका अनुसार माधव नेपालले नेकपामा प्रचण्डलाई दिएको जस्तो अधिकार एमालेमा आफूलाई दिइयोस् भन्ने चाहेका छन् । दुई अध्यक्ष राख्ने र कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको हस्ताक्षर अनिवार्य होस् भन्ने चाहना माधव नेपालको छ ।
माधव नेपालसँगको भेटपछि बसेको कार्यदल बैठकमा सदस्यहरूले नेता नेपालको चिन्ता सम्बोधन गर्ने गरी भाषा मिलाउन छलफल गरिरहेका छन् । सकेसम्म आजै सहमति गरी हस्ताक्षर गर्ने कार्यदलको तयारी छ ।