सूर्य थापाको अभिव्यक्तीपछि माधव नेपाल झन् आक्रोशित

सोमबार, २८ असार २०७८

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेकोमा आक्रोश पोखेका छन्।

एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेलगत्तै थापाले फेसबुक र ट्वीटमा ‘सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना’ भन्नेलगायत स्टाटस लेखेका थिए।

कार्यदलले गरेका सहमतिलाई अदालतको मानहानी गर्ने गरी व्याख्या गरिनु गलत र अस्वीकार्य रहेको नेता नेपाल बताउँछन्।

‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६(२३. १२३ मात्र। सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना१ मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका थिए।

यही स्टाटसमा नेता नेपालले आपत्ति जनाएका हुन्। नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सोमबार बिहानै स्टाटस लेखेर नेता नेपालले प्रेस सल्लाहकार थापाको उक्त धारणा राखेकोमा आक्रोश पोखेका छन्।