अब माधव नेपालले के गर्छन् ? प्रचण्डले खोले माधव नेपालको आगामी रणनीति
काठमाडौँ – सर्वोच्च अदालतको फैसला पछि माधव कुमार नेपालको रणनीति कस्तो रहला भन्ने विषय अहिले रहस्यमा छ । जसरी पनि केपी ओलीलाई सत्ताबाट च्युत गर्न लागि परेका नेपालसहित विपक्षी गठबन्धनले लिने स्टेपका बारेमा विश्लेषण हुन् थालेको छ ।
विपक्षी गठबन्धनका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले दिएको फैसलाले संविधान र लोकतन्त्रको जित भएको बताएर त्यसको स्वागत गरेका छन् भने नेपालले पनि स्वागत गरिसकेका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रचण्डले यसलाई जनताको जित भएको बताए। उनले यो गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।
‘संविधानवाद र संविधानको लोकतन्त्र, राष्ट्रियता र आम नेपाली जनताको जितको रूपमा मैले यसलाई हेरेको छु। निकै अप्ठेरो परिस्थितिबाट देश गुज्रिएको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। अदालत फैसलालाई म स्वागत गर्छु। संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’ उनले भने, ‘अब हामी गठबन्धन बनाएर नै हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा त्यही भनेर अगाडि बढेका थियौं। र एकमतले नै अगाडि गएको हुनाले यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं। अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’
उनले माधव नेपालसहित नेकपा एमाले केपी ओलीसँग एकताका लागि नजाने बताउँदै यो गठबन्धन चुनाव जहिले हुन्छ त्यहिलेसम्म हुने बताए । ‘माधव नेपालजीले ६ महिना, एक वर्ष डेढ वर्ष त्यसमा पनि तपाईंहरू सँगै जाने भन्नुभएको छ ।’ प्रचण्डले अगाडि भने, ‘ अब चुनावमा र जनताको विकास निर्णयमा समृद्धिको यात्रा लोकतन्त्रको सुद्धृढीकरण सबैमा हामीले अलिक लामैं राणनीतिक सोच बनाएर नै यो गठबन्धन बनाएका हौं। हामी परसम्म जान्छौं।’
‘अब मलाई लाग्छ। अहिले हामी माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं। बैठक बसेर गठबन्धनलाई नै सुद्धृढ गरेर लैजाने कोशिशमा हुन्छौं। हिजो उहाँहरूले राति उहाँहरूले जे गर्नुभएको थियो, रातारात जुन नाटकीय ढंगले त्यो गलत थियो भनेर माधवजीले नै भनिसक्नु भएको छ। उहाँ हामी संगै हुन्छौँ ।’ प्रचण्डले भने ।
प्रचण्डले अब एमाले पुरै माधव नेपालको टीममा एकताबद्ध हुने बताए । ‘मलाई विश्वास छ। अब पुरै एमाले माधव नेपालकैं नेतृत्वमा आउने स्थिति बन्यो भने धेरै राम्रो हुन्छ। त्यस्तो बन्यो भने गठबन्धन राम्ररी जान्छ। यदि त्यस्तो भएन भने पनि हामीलाई विश्वास छ माधवजीको नेतृत्ववाला जुन टिम छ त्यो टिम चै गठबन्धलाईलाई जोगाएरै लाने हुन्छ। हाम्रो कोशिस पनि उहाँलाई सहयोग गर्ने नै हुन्छ।’ उनले भने ।