बाख्रा चराउन गएकी १२ वर्षीया बालिका मृत फेला, बलात्कार गरी हत्या गरिएको आशंका
कार्तिक २५, उदयपुर – उदयपुरमा शनिबार एक १२ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकी छिन् ।
रौतामाई गाउँपालिका वडा नं.-३, लाफागाउँ अमला भन्ज्यांगका दुर्गा बहादुर खड्काकी १२ वर्षीया छोरी एल्जिना खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
शनिवार दिउँसो २ बजे बाख्रा चराउन गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र आफन्तले खोजी गर्ने क्रममा मृत फेला परेको वडाअध्यक्ष दुर्गराज खड्काले बताए ।
अध्यक्ष खड्काले भने , ‘शरीरमा लगाएको कपडा च्यातिएको अवस्थामा फेला परेको छ, बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा प्रहरी टोली छानबिनका लागि घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक चन्ददेव राईले जानकारी दिए ।