नेकपा नेता सुदर्शन रिहा
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हेमन्त प्रकाश ओली (सुदर्शन) रिहा भएका छन् । नेकपामा स्थायी समिति सदस्य समेत रहेका नेता सुदर्शन २४ महिनापछि रिहा भएका हुन् ।
चैत्र ९ गते काभ्रेको खानी खोलाबाट पक्राउ परेका थिए । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको समयमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
न्यायाधीश प्रकाश कुमार ढुंगाना, मनोजकुमार शर्माको संयुक्त इजलासले सरकार तर्फको मुद्धा बदर गरेर उनलाई रिहा गरेको हो । यसअघि सुदर्शनको पक्षबाट उनकी धर्मपत्नी अम्विका चन्द्रले बन्दीप्रत्यक्षीकरणको मुद्धा दायर गरेकी थिइन् । तर उनको रिट खारेज भएको छ ।
सर्वोच्च अदालनले मुद्धा बदर भएका बन्दीप्रत्यक्षीकरणमा फैसला गर्न नपर्ने भन्दै रिट खारेज गरेको हो । दुबै रिट एउटै इजलासमा परेका थिए ।
त्यस्तै, आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरू छलफल गरेका छ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ। सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए।
ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेपाल कम्युनिष्ट पार्टीले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । उनीहरुबीच वृहत एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको श्रोतले बतायो ।
विप्लवले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।
यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए। प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।