कहिलेबाट खुल्छ सवारी लाइसेन्सको आवेदन, कहिले हुन्छ परिक्षा ?
काठमाडौँ – कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा दुई साताभित्र खुल्ने भएको छ ।
सरकारले काठमाण्डू उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले यसका लागि काठमाण्डू उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ।
अहिले यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहने र छुट्टाछुट्टै कार्यालयले सूचना जारी गर्नुभन्दा एकीकृत सूचना सार्वजनिक गर्न उपयुक्त हुने आफूहरूको धारणा रहेकाले त्यसैअनुरूप कुराकानी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।
अहिले विभिन्न विश्वविद्यालयका परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा लाइसेन्स प्राप्तिका हकमा पनि समस्या नहुने आफूहरूको अपेक्षा रहेको घिमिरेले बताए। ‘तर हामीले भनेर मात्रै चाहिँ हुँदैन। प्रदेश सरकारको निर्णयमा पनि भर पर्छ’, उनले भने।
काठमाण्डूमा जिल्ला प्रशासन कार्यालयसँग अनुमतिबारे जानकारी लिने जानकारी घिमिरेले दिए।त्यसबाहेक कोरोनाभाइरस सङ्क्रमणबीच कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग पनि अनुमति माग गरिने बताइएको छ।
‘गत वर्ष सीसीएमसीले विद्यालयहरू नखोलेसम्म ट्रायल परीक्षा गर्न अनुमति दिएको रहेनछ। यो वर्ष के गर्छ मैले हाम्रो निर्देशकलाई सीसीएमसीसँग छलफल गर्न भनेको छु,’ घिमिरेले थपे। ‘मेरो लक्ष्य चाहिँ आज बुझेर आइतवारसम्म सूचना जारी गर्न सकियो भने अर्को आइतवारबाट ट्रायल परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने अपेक्षा हो,’ उनले भने।
शुक्रवारदेखि काठमाण्डू उपत्यकाका तीन जिल्लामा निश्चित सर्त पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख छ।
वैशाख १६ गते ट्रायल परीक्षा वा लिखित परीक्षाका लागि मिति उपलब्ध गराइसकिएको र अब परीक्षा हुने दिनका लागि समय पाएकाहरूलाई (साउन ९ बाट खुल्यो भने त्यसै दिनका लागि मिति पाएको) एकैपटक परीक्षा गराएर निषेधाज्ञाका कारण रोकिएका आवेदकहरूका साथै नियमित प्रक्रिया नमिचिनेगरी परीक्षा अघि बढाउने गरी छलफल गरिएको बताइएको छ।
अहिले देशैभरि ४,५०,००० जनाभन्दा बढी सर्वसाधारणले लाइसेन्सका लागि आवेदन दिएको बताइएको छ। ‘आवेदन अनलाइन दिने भएकाले नरोकेको भए पनि हुन्थ्यो तर त्यो बढ्दै गएर निकै ठूलो सङ्ख्या हुने भएकाले मानिसलाई मनोवैज्ञानिक त्रास नबनोस् भनेर रोकिएको हो,’ उनले भने।
गत वैशाख १५ गतेसम्म सर्वासाधारणहरूले लाइसेन्स प्राप्तिका लागि आवेदन दिएका थिए। लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ। सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने र त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ।
अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने घिमिरेले जानकारी दिए। ए (मोटरसाइकल, स्कूटर, मोपेड), बी (कार, जीप, डेलिभरी भ्यान) र के (स्कूटर, मोपेड) श्रेणीका साधनमा त्यो लागु हुने बताइएको छ। ‘जसको लिखित भयो तर ट्रायल बाँकी छ, ऊ परीक्षाको प्रक्रियामा छिरिसकेकाले नयाँबाट गर्न मिल्दैन। अब आउने चाहिँ लिखित र ट्रायल दुवै नयाँ प्रणालीबाट हुन्छ। त्यसको प्राविधिक तयारी करिबकरिब सकिसकेका छौँ,’ उनले भने।
त्यसका लागि केही यातायात कार्यालयले दुई ‘शिफ्ट’मा काम गर्न सक्ने जानकारी दिएको घिमिले बताए।सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो। त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो।
नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ। प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको पनि सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिइएको अधिकारीहरू बताउँछन्।
उक्त परीक्षामा १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका कारण सानो गल्तीका कारण अनुत्तीर्ण हुने अवस्थाको अन्त्य हुने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। नयाँ प्रावधानअन्तर्गत प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ। त्यस्तै सङ्केत चिह्न छोएमा, खुट्टाले भुइँमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरकफरक अङ्क घट्ने व्यवस्था गरिएको छ।
अहिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने दर ३० देखि ३५ प्रतिशत रहेकामा नयाँ व्यवस्था लागु भएपछि बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने अपेक्षा विभागको छ। ठूला सवारी चलाउने अनुमतिपत्र लिँदा भने अहिलेकै व्यवस्था कायम रहने अधिकारीहरूको भनाइ छ।