प्रचण्डको एउटै प्रस्ताव : ओलीले पार्टी फुटाए, देउवाले खुरुक्क मानिदिए

शुक्रबार, ८ साउन २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई प्रभावकारी बनाउन राखेको प्रस्ताव प्रधानमन्त्री देउवाले सहर्ष स्वीकारेका छन् । प्रचण्डले यही प्रस्ताव निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि राखेका थिए ।

तर ओलीले आफ्नो अहँकारका कारण प्रस्तावको कार्यन्वयनको त कुरा छोडौँ उल्टै प्रचण्डले सत्ता कव्जा गर्न लागेको भन्दै पार्टीलाई क्षेतविक्षत बनाइदिए । सरकार सञ्चालनमा सहजीकरणका लागि प्रचण्डले राखेको प्रस्ताव बिहीबार कार्यन्वयनमा आएको छ ।

सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनेर कार्यन्वयनमा आएको हो । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो ।

कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षबाट २ र काँग्रेसबाट २ जना सदस्य तोकिएको छ । खड्का नेतृत्वको कार्यदलको सदस्यमा काँग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेका छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । काँग्रेस नेता रमेश लेखकका अनुसार साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ .

यता, गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।

नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो । माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन बिहीबार बैठक गरेको छ । अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।
सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।