देउवा केपी ओली खोज्ने, ओली रास्ट्रपति भेट्न शितालनीवास जाने
शुक्रबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको खोजि भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेताको खोजी गरेका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् ।
उनले यसअघि विश्वासको मत लिने दिनपनि प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका थिए । सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने,‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न् । उपनेता तथा पूर्व सभामुखले पनि नयाँ संस्कृतिबारे बोलेपनि मेरो कुरा नसुनी हिँडिदिनुभयो ।’
प्रधानमन्त्री देउवाले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई संविधानको धारा ७६ को उपधारा ५ किन लेख्नुभयो भनेर सोध्नेवाला भएको भन्दै उहाँले ‘अब कहिल्यै पनि बीचमा यो संविधान भत्किने छैन’ भनेर सम्झिरहेको बताए ।
‘उहाँले पार्लियामेन्ट भंग हुनेछैन भनेर बोलेको म झल्झल्ती सम्झन्छु । अर्को कुरा राष्ट्रपति स्वयंले ७६ को ५ अनुसार आउनुस् भनेर आव्हान गरेअनुसार हामी बहुमत सदस्यको हस्ताक्षर लगेका हौ । उहाँले प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत प्राप्त गर भन्न सक्नुहुन्थ्यो तर गर्नुभएन’ प्रधानमन्त्री देउवाले यसअघि संविधानसम्मत आफु राष्ट्रपतिकोमा जाँदा बेवास्ता गरिएको बताए । उनले आफुहरुले संविधानको दायराबाहिर गएर केही नगरेको भन्दै संविधानसम्मत बनेको आफ्नो सरकारले गरेका बाचाहरू पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनले अहिले खोप सवैभन्दा ठुलो समस्या रहेको भन्दै किनेर भएपनि सवै जनतालाई खोप पुग्ने व्यवस्था मिलाउने बताए । त्यसक्रममा उनले आफुलाई सहयोग र समर्थन गर्ने गठबन्धन र नेताहरुको धन्यवाद व्यक्त गरे ।