ब्रोकर कम्पनीको सातो जानेगरी एक्सनमा उत्रियो धितोपत्र बोर्ड, लगानीकर्तामा खुशीयाली
काठमाडौँ – नेपाल धितोपत्र बोर्ड अन्ततः ब्रोकर कम्पनीका विरुद्ध खरो रुपमा उत्रिएको छ । बोर्डको एक्सनले ब्रोकर कम्पनीहरुका मालिकलाई खाना रुच्न छोडेको छ । बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिने भएपछि उनीहरुको सातो गएको हो । बोर्डले ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियमावली तयार गर्दै बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिन काम थालेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीका साथै निजी क्षेत्रबाट नयाँ ब्रोकर कम्पनी समेत थप्नेगरी गृहकार्य भइरहेको बताए। ‘केही सर्त, न्यूनतम पुँजी तोकेर ब्रोकर कम्पनी थप्ने गरी नियमावलीको मस्यौदा तयार भइरहेको छ,’ ढुंगानाले भने। ब्रोकर कम्पनीका लागि कार्यक्षेत्रअनुसार न्यूनतम पुँजी १० करोड र १ अर्ब तोक्नेगरी प्रस्ताव गरिने भएको छ।
ब्रोकरको संख्या बढाउनु पर्ने जरूरत भएकै कारण प्रदेशस्तरमा पनि नयाँ थप्नेगरी गृहकार्य गरिएको उनले बताए। सात वटा प्रदेशमा मुख्य कार्यालय सञ्चालन गर्न नयाँ कम्पनीले लाइसेन्स पाउने छन्। उनीहरूका लागि आवश्यक न्यूनतम पूर्वाधार पनि तोकिनेछ। मस्यौदा तयार भइसकेपछि अर्थ मन्त्रालयबाट स्वीकृति हुनुपर्नेछ। मन्त्रालयबाट मस्यौदा स्वीकृत भएर आई नियमावलीले पूर्णता पाएपछि मात्रै नयाँ ब्रोकर कम्पनीको लाइसेन्सका लागि आवेदन खुलाइनेछ।
‘जतिसक्दो छिटो ब्रोकर कम्पनी थप्ने तयारीमा छौं,’ धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने, ‘कति संख्या थपिनेछ भन्ने विषय अहिले निर्क्यौल भइसकेको छैन।’ मस्यौदा तयार गर्ने विशेष कमिटीमा मन्त्रालयका अधिकारीसमेत संलग्न छन्। बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि पुँजी बजार विस्तार हुँदै जाने भएकाले लगानीकर्ताले वर्षौंदेखि यो माग उठाउँदै आएका थिए।
ब्रोकरेज सेवामा नियामकले नै सिन्डिकेट लादेको भन्दै लगानीकर्ताले आलोचना गर्दै आएका छन्। वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले समेत सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताउँदै आएको छ। बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिँदा बैंकका शाखामार्फत गाउँगाउँमा पुँजी बजारको पहुँच पुग्ने बताउँछन् ग्लोबल आइएमई क्यापिटलका सिइओ पारसमणि ढकाल।
सेयर किनबेच गर्दा कारोबारी÷लगानीकर्ताबाट पाउने कमिसन नै ब्रोकर कम्पनीहरूको मुख्य आम्दानी हो। एक पटकमा जति रकमको सेयर किनबेच हुन्छ, सो रकममा ०.२७ देखि ०.४ प्रतिशतसम्म ब्रोकर कमिसन लाग्छ। किन्ने र बेच्ने दुबैले यो कमिसन तिर्नुपर्छ। एक पटकमा ५० हजार वा सोभन्दा कम रकमको सेयर किन्दा वा बेच्दा सबैभन्दा बढी ०.४ प्रतिशत कमिसन लाग्छ भने एक करोडभन्दा बढी कारोबारमा सबैभन्दा कम ०.२७ प्रतिशत कमिसन लाग्छ।
२०५० सालमा ३२ ब्रोकर कम्पनीलाई अनुमति दिइएको थियो। नौ वटाले छोडे। २३ वटा ब्रोकर कम्पनीले सेवा थाल्दै गर्दा २०६८ सालमा २७ वटा थपिए। दैनिक कारोबार रकम लाख, करोड हुँदै अहिले अर्बमा पुगेको छ। लगानीकर्ता संख्या सय, हजार हुँदै १० औं लाखमा पुगेको छ। ब्रोकरको त्यही ५० संख्या भने अहिलेसम्म बढ्न सकेको छैन।