रोकिराखेको यात्रुवाहक बसमा ट्रक ठोकियो, १८ जनाको मृत्यु
काठमाडौँ – गुडिरहेको यात्रुबहाक बसमा ट्रक ठोकिदा १८ जनाको मृत्यु भएको छ । यो खबर भारतको हो । मृत्यु हुनेमा हरियाणा राज्यबाट काम गरे फकिँदै गरेको बिहार राज्यका नागरिक हुन् ।
सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो। बुधवार बिहान सबेरै ट्रक आएर जोतिँदा यात्रुमध्ये केही बसमै थिए भने केही नजिकै बाहिर सडकमा सुतिरहेका थिए।
प्रहरीले बताए अनुसार उक्त बसमा क्षमताभन्दा बढी यात्रु चढेको विविले जनाएको छ । बस बिग्रिएपछि केही यात्रुहरू सडकमा सुत्न गएका थिए भने चालक बस बनाउने मिस्त्री खोज्न गएको बाराबङ्की प्रहरीका अधिकारी यमुना प्रसादले बताए।
‘यो दुःखद घटना हो। पैँसट्ठी जना बोक्ने क्षमता भए पनि झन्डै १४० यात्रु चढेकाले बस बिग्रिएको हुनसक्छ,’ उनले भने। प्रसादका अनुसार उक्त बसमा एअर–कन्डिशनर भएकाले झ्याल थिएन। त्यसैले गाडी बिग्रिएपछि केही यात्रुहरू बाहिर सडकमा गएर सुतेको अनुमान गरिएको छ।
बाराबङ्कीस्थित अस्पतालहरूमा कम्तीमा ३० जनालाई भर्ना गरिएको छ। तीमध्ये केही गम्भीर घाइते छन्।प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।
बिहारबाट मानिसहरू हरियाणा र दिल्लीमा काम गर्न जान्छन्। त्यसरी काम गर्न जाने मानिसहरू भाडा सस्तो पर्ने हुँदा आफ्नो गन्तव्य जाँदा वा घर फर्किँदा प्रायः रेल र बस चढ्छन्।