मेलम्चीमा फेरी बाढीको वितण्डा, कति भयो क्षति ?
काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राती फेरी बाढी पसेको छ । विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा फेरी बाढी आएको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ। ‘असार १ गतेजस्तै बाढी आइरहेको छ, बाढीले के कति क्षति गरिरहेको छ भन्ने आउन बाँकी छ,’ पोखरेलले भने।
सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बाढी चनौटे बजारको बीच भागबाट बगिरहेको छ। तर, त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन।
‘पहिले जुन ठाउँबाट बाढी आएको थियो। मुहानबाट फेरि आक्समिक रुपमा बाढी आएको छ। बाढी आएपछि सर्वसाधारणलाई जानकारी दिइएको छ, मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन,’ अधिकारीले भने।
अधिकारीका अनुसार हेलम्बु, मेलम्ची, चौतारा अन्तर्गतका सबै ठाउँमा सुरक्षा निकाय परिचालित गरी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको छ। प्रहरीले यसअघि नै दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरेको थियो।
‘त्यो साइरनका कारण पनि अहिले मानिसहरूलाई सजिलो भएको छ,’ उनले भने। उनका अनुसार मेलम्ची नदीले स्वरुप परिवर्तन गरेको छ। नदीको आवाज पनि परिवर्तन भएर आएको छ। ‘पानीको सतह दुई गुणाले बढेको छ, यो भनेको असार १ गतेजस्तै हो,’ अधिकारीले भने।
यसअघि क्षति पुर्याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ। ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्।
शनिबारको बाढीले मानवीय क्षति भने पुर्याएको छैन। हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी यसअघि पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए।
‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले भने, ‘हेलम्बु गाउँपालिका नाकोते खोलामा फेरि बाढी आएको छ। खोला असार १ गते जितिकै आवाजमा आएको छ। मेलम्ची खोला तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन अनुरोध गर्छु।’ उनले खबर गरेको करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो।