कुलमान घिसिङलाई देउवाको उपहार, महत्वपूर्ण जिम्मेवारी सहित कमव्याक गरिँदै

आइतबार, १७ साउन २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई महत्वपूर्ण जिम्मेवारी दिने भएका छन् । नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले कुलमानलाई विद्युत प्राधिकरणमा फेरी ल्याउने तयारी गरेका हुन् ।

नेपाललाई लोडसेडिंग मुक्त गराएर उज्यालो नेपालको नायकको उपाधी पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी भइरहेको भित्री श्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । सो निर्देशनलाई देउवाले पनि सकारात्मक रुपमा लिएको श्रोतको भनाई छ ।

ऊर्जा मन्त्रालय श्रोतका अनुसार त्यससम्बन्धी फाइल उठाउने काम सुरु भइसकेको छ । घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिए लगत्तै पुनः जिम्मेवारी दिने गरी काम अघि बढेको प्रचण्डका एक सचिवालय सदस्यले जानकारी दिए । विद्युत प्राधिकरणको वार्षिकोत्सव भदौ १ मा हो ।

घिसिङ प्रचण्डनिकट मानिन्छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई ०७३ भदौ २९ गते चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । २०७७ भदौ २८ मा कार्यकाल सकाएर घिसिङ घर गएका थिए ।

लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खेलेको भन्दै घिसिङ जनतामाझ लोकप्रिय छन् । सरकार परिवर्तनसँगै घिसिङलाई पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग समेत उठ्न थालेको छ ।

तत्कालीन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण उक्त प्रस्ताव मन्त्रिपरिषदको एजेण्डामा राखिएन ।

घिसिङलाई पुनः प्राधिकरणको नेतृत्वमा निरनतरता दिन चाहेको र मन्त्रिपरिषदमा प्रस्ताव लगेको अभिव्यक्ति दिएपछि ओलीले मन्त्री पुनलाई बालुवाटार बोलाएर हप्काएका थिए । तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले पनि घिसिङको निरन्तरताका लागि ओलीलाई दबाब दिएका थिए । तर, ओली तयार भएनन् ।

आम मानिसले घिसिङको पुनर्नियुक्तिका लागि दबाब दिए पनि ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । ओलीले राम्रो काम गरेर प्रसिद्धि कमाएका घिसिङलाई रोकेर सालोलाई प्राधिकरणको जिम्मेवारी दिएको भन्दै चर्को आलोचना भएको थियो ।

उनले जिम्मेवारी पाएपछि प्राधिकरण घाटामा जान लागेको समाचाहरु बाहिरी रहेका छन् । पछिल्लो समय जेनेटर व्यवसायीसँगको मिलेमत्तोमा अघोषित रुपमा लोडसेडिङ भइरहेको छ ।