मन्त्री बन्न बालुवाटार पुगे एमाले सांसदहरु

आइतबार, १७ साउन २०७८

काठमाडौं – मन्त्री बनाइदिन भन्दै एमालेका ४ नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदमध्ये ४ जना बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेका सांसदहरुले मन्त्री बन्न तयार रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएको थिए । बालुवाटारमा मन्त्री बन्न भनेर गएका उनीहरुलाई प्रधानमन्त्री देउवाले वरिष्ठ नेता माधव नेपालको स्वीकृतिबिना मन्त्री नबनाउने भनेर फर्काएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी बैठकमा उक्त कुरा सुनाएका थिए । उनका अुनसार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका ४ जना सांसद् मन्त्री बन्न तयार रहेको भन्दै बालुवाटार पुगेका थिए ।

मन्त्री बन्न बालुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार रहेको बताए पनि प्रधानमन्त्री देउवाले उक्त प्रस्तावको अस्विकार गरेको प्रचण्डको भनाइ छ ।

साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरुले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने अडानमा छन् ।

कुन कुन सांसद गएको हो भनेर चाँही प्रचण्डले बताएनन् । उनले नबताएपनि मेटमणी चौधरी पछिल्लो समय सरकारमा सहभागी हुने बारेमा खुलेर बोल्दै आएका छन् । बालुवाटार श्रोतका अनुसार उनीसहित प्रेम बहादुुर आले, किसन श्रेष्टसहितका सांसदहरु बालुवाटार पुगेका थिए ।